यस्तो फाटेर च्यातिएको जुता त मैले विधालय पढ्दा पनि लगाएनँ। त्यो बेलामा बाबाको आर्थिक अवस्था कमजोर थियो—दुई दाजुभाइ र २ बहिनी गरी चार जनाको पढाइ तथा परिवारको गुजारा चलाउनु ठूलो चुनौती थियो। तर पनि यस्तो दुर्गति भएको जुता मैले कहिल्यै लगाउनुपरेन।
तर आज, एक जना प्रहरीको खुट्टामा यस्तो च्यातिएको, पुरानो जुता देख्दा मन भक्कानियो। शब्दै नखोजी लेख्न बाध्य भएँ।
सरकारबाट नेपाल प्रहरीलाई ३–४ वर्षमा मात्र एउटा जोडी जुता दिइन्छ रे। गर्मीमा लगाउने पोशाक त दिइंदैन नै—एक जना प्रहरीले दुःख पोख्दै भने, “गर्मीको पोशाक त आफैंले किनेर सिलाएको हो। त्यसैले गर्मीमा अलिक सहज हुन्छ।”
म चाहिँ प्रत्येक जाडो महिनामा एउटा नयाँ जुता किन्छु। सिजनअनुसारका कपडाहरू कति छन्, गन्नै गाह्रो छ। अनि एउटा जागिरे प्रहरी—जो हाम्रो सुरक्षाका लागि दिनरात खटिन्छ—उ यस्तो दयनीय अवस्थामा बस्नुपरेको देख्दा मन कुचुक्क दुख्छ।
यो दृश्यले प्रश्न उठाउँछ—
के प्रहरी मात्र ‘कमान्ड’ र ‘ड्युटी’ को नाममा प्रयोग हुने साधन हुन?
के राज्यले उनीहरूको श्रम र बलिदानको यथोचित मूल्यांकन नगर्ने?
प्रहरीहरूको यस्तो अवस्था देख्दा सामाजिक न्याय र सम्मानका कुराहरू खोक्रा लाग्न थाल्छन्।

