सर्लाहीको गोडैता, जहाँ ब्राह्मण र बनिया समुदायको बाहुल्यता छ। शैक्षिक, सामाजिक तथा आर्थिक रुपमा अग्रणी देखिने यो ब्राह्मण समुदायलाई सदैव "संस्कार र नैतिकताको वाहक" भनेर चिनिन्छ। तर विडम्बना के भने, यही समुदायको नेतृत्वमा हुने धार्मिक पूजापाठले आज समाजलाई विकृत मार्गमा धकेलिरहेको छ।
गणेश पूजा र महाविरी पूजाको नाममा वर्षेनी भव्य कार्यक्रम हुन्छन्। तर धर्मको आडमा हुने ती पूजामा भक्ति र आस्था भन्दा बढी अश्लीलता झल्किन्छ। नेपाल सरकारले प्रतिबन्ध लगाइसकेको तथाकथित "सस्तो अर्केष्ट्रा" बजाउँदै, अर्धनग्न नृत्य प्रस्तुत गरेर समाजलाई अधोपतनतर्फ धकेल्ने काम हुन्छ।
अझ अचम्म त के छ भने, अरुलाई नैतिकता, संस्कृति र मर्यादाको उपदेश दिने यही समुदाय नै आफ्नै नेतृत्वमा अश्लीलता पस्किरहेको छ। धार्मिक आस्थाको नाममा हुने यस्ता विकृत क्रियाकलापले नयाँ पुस्तामा गलत संदेश दिइरहेको छ।
स्थानीय प्रशासन भने ‘सुरक्षाको नाममा बाध्यतावश उपस्थित’ हुन्छ, तर नियन्त्रणमा ल्याउनेतर्फ मौन बस्छ। यसले प्रशासन र आयोजकबीच मिलेमतोको आशंका समेत बढाएको छ।
सामाजिक अभियन्ता र सचेत वर्ग यसप्रति आक्रोशित छन्। उनीहरू भन्छन्— “गोडैताको संस्कार बचाउने हो भने धर्मको नाममा अश्लीलता रोकिनुपर्छ। पूजामा संस्कार, संस्कृति र मूल्य हुनु पर्छ, अश्लीलता होइन।”
विगतदेखि नै सचेत समाजसेवीहरूले यसको विरोध गर्दै आएका छन्। तर विरोधलाई बेवास्ता गर्दै धार्मिक कार्यक्रमलाई नै मनोरञ्जनको बजारमा बदल्ने प्रवृत्ति अझै बढ्दो क्रममा छ।

